एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा वायर्नले वेर्डर ब्रेमेनलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन फिलिपे कौटिन्होले ह्याट्रिक गरे । यस्तै रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा थोमस मुलरले एक गोल गरे ।
ब्रेमेनका मिलोट राशिकाले एक गोल गरे ।

खेलमा सुरुवाती एक गोलले पछि परेको स्थिति उल्टाएर वायर्नले जित निकालेको हो ।
२४ औं मिनेटमा मिलोटले गोल गर्दै ब्रेमेनलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा कौटिन्होले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । लगत्तै लेवान्डोस्कीले गोल गर्दा पहिलो हाफमा वायर्न २-१ ले अघि रह्यो ।
६३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नको अग्रता ३-१ को बनाए । ७२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टिमले अग्रता ४-१ को बनायो । ७५ औं मिनेटमा मुलरले गोल गर्दा वायर्नको अग्रता थप फराकिलो बन्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा कौटिन्होले ह्याट्रिक पुरा गर्दै घरेलु टिमलाई ६-१ जित दिलाए ।
जितसँगै वायर्नले १५ खेलबाट २७ अंक जोडेको छ । वायर्न लिगको चौंथो स्थानमा रहेको छ । पराजित ब्रेमेन १४ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमण्डले मैन्जलाई ४-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै डर्टमण्ड लिगको तेस्रो स्थानमा रहेको छ ।