काठमाडौं । जापानमा आयोजना हुने अन्तर्राष्ट्रिय यू-१२ टोरे कप फुटबलमा नेपाली यू-१२ फुटबल टिमले सहभागिता जनाउने भएको छ ।
प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल युथ सकर प्रोजेक्ट (एनपिओ) सँग शनिबार सम्झौता गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रोजेक्टका अध्यक्ष वसन्त गौचनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै नेपालले एनपिओसँग सहकार्य गरेर प्रतियोगिता खेल्नेछ । टोकियोमा हुने प्रतियोगिता आगामी मार्च अन्तिम साता हुनेछ । प्रतियोगितामा स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, मलेसिया लगायतका टिम र जापानको जे लिग क्लबका युथ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको लागि नेपालमा खेलाडी छनोट एन्फाले गर्नेछ । प्रतियोगिताका लागि जापानमा रहदाको सम्पूर्ण खर्च भने एनपिओले गर्नेछ । यस्तै जापानको फन रुट्स एकेडेमीले सहयोग गर्नेछ ।
यस अघि एनपिओले कास्की फुटबल संघसँग सहकार्य गरेर टिम छनोट गर्दै प्रतियोगिता खेल्दै आएको थियो । तर, एनपिओले यस पटकबाट भने एन्फासँग सहकार्य गरेको हो ।
सम्झौतापछि बोल्दै वसन्तले यस प्रतियोगिता प्रतियोगिता मात्र नभएर नेपाली फुटबललाई दीर्घकालीन सहयोग पुर्याउन सहयोग गर्ने बताए । बसन्त नेपाली राष्ट्रिय टिमका पूर्व स्ट्राइकर समेत हुन् ।
यस्तै एन्फा अध्यक्ष शेर्पाले युवा फुटबल विकासका लागि एन्फा लागि परेको जनाउदै प्रतियोगितामा प्रदेशबाट छानिएका १२ खेलाडीलाई जापान पठाउने बताए ।