पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको प्रतिस्पर्धा आज (मंगलबार) बाट सुरु हुँदैछ ।
पोखरा रंगशालामा नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । खेल बिहान १० बजे सुरु हुनेछ ।
श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । किनकी नेपाली महिला फुटबल टिमले सागमा स्वर्ण जित्ने लक्ष्य बनाएको छ ।
'हामी स्वर्णका लागि खेल्दैछौँ, त्यसकारण सुरुवात एकदमै सुखद चाहान्छौं,' टिमको महत्वकांक्षी योजनाबारे मुख्य प्रशिक्षक हरि खड्काले भने, ' नेपाली टिमले अहिलेसम्म श्रीलंकासँग हार व्यहोर्नु परेको छैन । त्यो भन्दैमा हामीलाई श्रीलंकासँग सजिलो छ भन्ने हैन ।'

सागको लागि नेपाली टिमले लामो समयबाट पोखरामै तयारी गरेको छ । मैदानको निर्माण ढिला सकिदा नेपाली टिमले खेल हुने स्थलमा धेरै तयारी गर्न पाएँन् ।
तर, प्रशिक्षक खड्काले नयाँ मैदान भएपनि नतिजा आफ्नो पक्षमा पार्ने बताए ।
'नयाँ मैदानमा थोरै समय मात्रै प्रशिक्षण गरेको कारण खेलाडीलाई केही असहज हुन सक्छ तर पनि नतिजा आफ्नो पक्षमा पार्नेमा ढुक्क छौँ,' प्रशिक्षक खड्काले थपे ।
यस्तै नेपाली टिमकी कप्तान निरु थापाले भारतलाई हराउँदै स्वर्ण जित्ने लक्ष्य रहेको बताईन् ।
'भारतसँग साफको बदला लिने योजना भएकोले सबै खेलमा जित हात पार्दै फाइनल जित्ने योजना छ,' कप्तान निरुले भनिन् ।




