एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।
शनिबार राति भएको खेलमा ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित लिभरपुलका लागि भिर्गिल भान डायक नायक बने । लिभरपुलका लागि दुवै गोल डायकले गरे ।
खेलको १८ औं मिनेटमा डायकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको २४ औं मिनेटमा डायकले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।

खेलको ७६ औं मिनेटमा गोलकिपर एलिसन बेकरले रातो कार्ड पाउँदा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा लेविस डुकले गोल गरेपनि ब्राइटन २-१ ले पराजित भयो ।
जितसँगै लिभरपुलले १४ खेलबाट ४० अंक जोडेको छ । पराजित ब्राइटन १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।