काठमाडौं । ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लबले भारतीय खेलाडी दयानन्द सिंहलाई नयाँ सिजनको लिगका लागि अनुबन्धन गरेको छ ।
साविक विजेता मनाङले एक सार्क देशको कोटाबाट नयाँ सिजनका लागि भारतीय खेलाडी रोजेको हो ।
ए डिभिजन क्लबले चार विदेशी खेलाडी अनुबन्धन गर्न पाउने एन्फाको लिगको नियमावलीमा उल्लेख छ । जसमध्य एक सार्क राष्ट्रबाट अनिवार्य गरिएको छ । अन्य तीन खेलाडी कुनैपनि देशको राख्न सकिनेछ ।
मनाङले भारतको शीर्ष डिभिजनको क्लब मोहन बगानबाट खेलेका दयानन्दलाई क्लबमा ल्याएको हो ।
उनी मिडफिल्डरका खेलाडी हुन् । उनले क्लबमा हेमन गुरुङ र बिशाल राईको स्थान लिने मनाङले जनाएको छ ।
हेमनले प्लेमेकरको भूमिका निर्वाह गर्दा मनाङलाई गत सिजन लिग जित्न सजिलो भएको थियो ।
मनाङले गत सिजन समेत भारतबाट एक खेलाडी ल्याएको थियो । उसले डिफेन्सलाई बलियो बनाउन मोहम्मद आसिफलाई क्लबमा अनुबन्धन गरेको थियो । उनले डिफेन्समा राम्रो प्रर्दशन गर्दा मनाङले लिगको अन्तिम खेलमात्र गुमाएको थियो ।
सोही कारण मनाङले नयाँ सिजन समेत भारतीय खेलाडीलाई मौका दिएको हो ।
'विदेशी कोटाका चारै खेलाडी मनाङले ल्याउनेछ । सार्क कोटामा दयानन्दलाई राखेको हो ।' क्लबका एक पदाधिकारीले खेलपाटीसंग भने ।
गत बर्ष मनाङलाई लिग जिताएका पाँच राष्ट्रिय टिमका खेलाडीले क्लब छाडेका छन् । कप्तान विराज महर्जन सहित सुजल श्रेष्ठ, बिशाल राई, हेमन गुरुङ र बिशाल श्रेष्ठले क्लब छाडेका छन् ।
उनीहरु सबै अर्को ए डिभिजन क्लब मछिन्द्र गएका हुन् । यद्वपी त्यसको औपचारिक घोषणा चाँडै गर्ने क्लबले जनाएको छ ।
यस बर्ष मनाङमा एडिलाजा र ओलावले अफिज समेत रहने छैनन् । विदेशी कोटामा समेत सबै नयाँ खेलाडी ल्याउने मनाङको तयारी छ ।
मनाङले लेफ्ट ब्याकमा विदेशी खेलाडी लुईसलाई अनुबन्धन गरिसकेको छ । उनले क्लबमा विराज महर्जनको स्थान लिनेछन् ।
मनाङले यस सिजनको लागि स्ट्राइकर अन्जन विष्टलाई यथावत राखेको छ भने उनका दाजु रन्जन बिष्टलाई थ्रीस्टारबाट भित्राएको छ ।
यस्तै मिडफिल्डर पुजन उपर्कोटी र डिफेन्डर सुरज विश्वकर्मालाई यथावत राखेको छ । यस्तै प्रशिक्षकमा सि लाईसेन्स कोर्ष गरेको तोपे फुजालाई ल्याएको छ ।
मनाङलाई कीर्तिमानी आठौं पटक लिग च्याम्पियन बनाउँदा फुजा टिमको मुख्य प्रशिक्षक थिए ।