एजेन्सी । नेपाली मुलकी फुटबलर अस्मिता आले मगर व्यवसायिक खेलाडीको रुपमा इन्ग्लिश क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् ।
एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको अस्मिताले शुक्रबार क्लबसँग औपचारिक सम्झौता गरेकी छिन् ।
१८ वर्षे डिफेन्डर अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन् ।
'पेशाको रूपमा फुटबल खेल्ने मेरो सपना हो,' सम्झौतापछि अस्मिताले भनिन्, 'क्लबमा अनुबन्धित हुँदा खुशी लागेको छ ।'
अस्मिताले २०१७/१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, म्यानेजमेन्ट र समर्थकलाई प्रभावित पारेकी थिइन् ।
इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताले इंग्ल्याण्डको यू-१९ राष्ट्रिय फुटबलमा टिमका मुख्य खेलाडी हुन् । गत महिना युइएफए वुमन्स यु-१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा अस्मिता परेकी थिइन् ।
अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन् । तनहु दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए ।