एजेन्सी । युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
बिहिबार राति भएको समूह चरणको खेलमा युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
अस्टनाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड पराजित भएको हो ।
खेलको १० औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोली खेलमा फर्किएको थियो ।
खेलको ५५ औं मिनेटमा दिमित्री शोम्कोले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६२ औं मिनेटमा डी शोन बर्नार्डले आत्मघाती गोल गर्दा अस्टना २-१ ले विजयी भयो ।
अस्टनासँग पराजित भएपनि युनाइटेड समूह एलको शीर्ष स्थानमा रहेको छ । यस अघि नै नकआउट चरणमा पुगिसकेको युनाइटेडले ५ खेलमा १० अंक जोडेको छ ।
अस्टनाको यो पहिलो जित हो । अस्टनाले खेलमा ५ खेलमा ३ अंक जोडेको छ ।