काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान गरिसकेका सुजल श्रेष्ठ सहित पाँच खेलाडीले ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी छाडेका छन् ।
लामो समय मनाङबाट खेल्दै आएका राष्ट्रिय टिमका पाँच खेलाडीले मनाङ छाड्दै अर्को ए डिभिजन क्लब मछिन्द्र गएका छन् ।
पाँचै खेलाडीले क्लबसंग रिलिज पेपर समेत लगेका छन् । रिलिज पेपर लिनु अघिनै पाँचै खेलाडीले मछिन्द्रमा जाने निर्णय गरिसकेका थिए ।
सुजल सहित मनाङमा झण्डै एक दशक बिताएका विशाल श्रेष्ठले समेत क्लब छाडेका छन् । सुजल, विशाल सहित विराज महर्जन, हेमन गुरुङ र विशाल राईले क्लब छाडेका हुन् ।
गत बर्ष मनाङबाट लिग खेलेका पाँच खेलाडीले मनाङ छाडेको पुष्टि गर्दै क्लब महासचिव अनिल गुरुङले चाहेर समेत खेलाडीलाई मनाउन नसकिएको बताए ।
‘उनीहरुले टिम बनाएर माग गरे । क्लबले पुरा गर्न नसक्ने अवस्था बन्यो । त्यही मागलाई मछिन्द्रले पुरा गर्यो ।’ गुरुङले खेलपाटीसंग भने ।
मनाङ घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो । उसले गत बर्ष कीर्तिमानी आठौं पटक लिग उपाधि जितेको थियो ।
‘हामीले छाडेजस्तो देखिएको छ । तर सत्य त्यो हैन । खेलाडीले क्लबभन्दा आफुलाई माथि राखेर माग राखे । क्लब भन्दा खेलाडी ठुलो हुन सक्दैन ।’ गुरुङले भने ।
विदेशी खेलाडी नयाँ
पाँच मुख्य खेलाडीले क्लब छाडेसंगै मनाङले तीन नयाँ विदेशी खेलाडी ल्याउने भएको छ । क्लबले एडिलाजा सोमिडे र ओलावले अफिज नयाँ सिजन क्लबमा नहुने प्रष्ट पारेको छ । सोही अनुसार मनाङले लेफ्ट ब्याक डिफेन्डरको रुपमा लुईसलाई अनुबन्धन गरेको छ । लुईसले मनाङमा विराज महर्जनको स्थान लिनेछन् ।
यस्तै मनाङले अन्य दुई विदेशी समेत नयाँ ल्याउने छ । क्लबले दुई विदेशी कोटाका खेलाडी ल्याउने जिम्मेवारी मुख्य प्रशिक्षक तोपे फुजालाई दिएको छ । फुजा पर्सी शनिबारसम्म नेपाल आईपुग्नेछन् । पुजासंगै दुई विदेशी समेत मनाङमा आबद्व हुनेछन् ।
अभिषेक र देबेन्द्रले समेत मनाङ छाडे
अभिषेक रिजाल र देबेन्द्र तामाङले गत सिजन मनाङबाट लिग खेलेनन् । क्लबले एएफसी कप खेल्न अभिषेक र देबेन्द्रलाई मनाङमा अनुबन्धन गरेको थियो ।
क्लबले दुई खेलाडीसंग तीन महिनाका लागि अनुबन्धन गरेको थियो । तर दुवै खेलाडी नयाँ सिजन मनाङमा हुने छैनन् । दुवै खेलाडीले नयाँ सिजनको लिग खेल्न मछिन्द्र रोजेका छन् । मछिन्द्रले चाँडै पत्रकार सम्मेलन गरेर नयाँ खेलाडी अनुबन्धनबारे जानकारी गराउने तयारी गरेको छ ।
समस्या कहाँ ?
नेपालले विश्वकप छनोट खेल्ने भएपछि ए डिभिजन लिगको मिति प्रभावित बन्यो । सोही कारण अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ सिजनको लिगको तालिका सार्वजनीक गर्न सकेन । गत सिजनको लिग पुषमै सम्पन्न भएको थियो । त्यसपछि मोफसलको गोल्डकप सुरु भएको थियो ।
यस बर्षको लिगको मिति टुङ्गो लाग्न समय लाग्यो । बर्षको सुरुवातमा खासै ठुला क्लब प्रतियोगिता भएनन् । अन्तिममा एन्फाले मंसिरको अन्तिम साता लिग मिति प्रस्ताव गर्यो ।
लिग ढिलो सुरु हुने भएपछि क्लबले खेलाडी अनुबन्धनमा आलटाल गरे । लिगनै नहुने भएपछि क्लब समेत खेलाडी अनुबन्धन गरेर पैसा उडाउन चाहदैन थिए । त्यसको मार खेलाडीलाई पर्यो । खेलाडी बेरोजगार भए । पैसा आउने बाटो बन्द भयो । त्यसको मार मनाङका खेलाडीमा समेत पर्यो । गर्जो पर्दा खेलाडीले क्लबसंग पैसा मागे । तर खेलनै नहुने भएपछि क्लबले समेत खेलाडीलाई पैसा दिन सकेन ।
त्यही समय मछिन्द्रले खेलाडी अनुबन्धनमा बाजी मार्यो । उसले खेलाडीलाई तीन चार महिनाको पैसा एडभान्समै दियो, नयाँ सिजन क्लब आउने शर्तमा । बेरोजगार बनेका खेलाडीले मछिन्द्रको प्रस्ताव स्विकार गरे । त्यसमा घरेलु फुटबलकै सर्वाधिक सफल क्लब मनाङका मुख्य पाँच खेलाडी थिए । अझ मनाङमा झण्डै एक दशक विताएका बिशाल श्रेष्ठ समेत मछिन्द्र रोज्न बाध्य भए ।
के भन्छन् मनाङका महासचिव ?
पाँच जना खेलाडीलाई जानी जानी क्लबले छाडेको हैन । उनीहरुको माग पुरा गर्छुनै भनेको हो । तर लिग नखेलेको समेत उनीहरुले पैसा मागेको माग्यै गरे । तीन महिना अगाडी नखेलेको अवस्थामा क्लबले कसरी पैसा दिने ?
उनीहरु राष्ट्रिय टिमबाट खेले अनि लिग नहुदाँ क्लबसंग पैसा मागे । तर मछिन्द्रले लिगको दुई महिना अगाडी देखिनै नखेलेको पैसा दियो ।