काठमाडौं । विभागीय टिम एपीएफ क्लब चन्द्रागिरी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबलाई सडनडेथमा ९-८ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
अब एपीएफले उपाधिका लागि अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग शनिबार खेल्नेछ ।
नैकापस्थित नैकाप फुटबल मैदानमा निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
शुरुवाती पाँच पेनाल्टीमा दुवै टोलीबाट समान ४ गोल भएको थियो । थ्री स्टारका कप्तान रुपेश केसी, ह्यामजात, जीवन गुरुङ र प्रिसोले गोल गरे । एलिउको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले बचाएका थिए ।
एपीएफका सुदिप शिख्राकार, नवीन लामा, बुद्धिमान राई र सन्तोष कटवालले गोल गरे । आशिष लामाको प्रहार गोलरक्षक प्रिसोले बचाएका थिए ।
त्यसपछि थ्री स्टारका अशोक खवास, दिपेश घले र निराजन महर्जनले गोल गर्दा रन्जन पुनको पेनाल्टी बाहिरियो । एपीएफका रमेश दंगाल, प्रवीन स्याङ्तान र राम कुमार कुमालले गोल गरे । बिकु लामाको प्रहार गोलरक्षक प्रिसोले बचाए । बिकुको प्रहार बचाउदा रन्जको प्रहार बाहिरिएपछि खेल ७–७ को स्थितिमा पुगेको थियो ।
सुसान श्रेष्ठले गोल गर्दा करन राउतको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले बचाएका थिए । त्यसपछि एपीएफका राजन गुरुङ र गोलरक्षक अमृत चौधरीले गोल गर्दै एपीएफलाई सडन डेथमा ९–८ को जित दिलाए ।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।