एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (बुधबार) विभिन्न आठ खेल हुँदैछ ।
च्याम्पियन्स लिगमा बुधबार राति साविक विजेता लिभरपुल, बार्सिलोना, चेल्सी, इन्टर मिलान, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
इन्ग्लिश क्लब लिभरपुलले घरेलु मैदानमा इटालियन क्लब नापोलीसँग खेल्दैछ । खेल राति १:४५ मा सुरु हुनेछ ।
समूह 'ई' मा रहेको लिभरपुल घरेलु मैदानमा जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छ । यस्तै नापोली पनि लिभरपुललाई हराएर नकआउट चरणमा स्थान सुरक्षित गर्न चाहन्छ ।
समूहको शीर्ष स्थानमा रहेको लिभरपुलको ९ अंक रहेको छ । दोस्रो स्थानको नापोलीको ८ अंक रहेको छ ।
यसै समूहको अर्को खेलमा जेन्क र साल्जबर्गबीच खेल हुनेछ ।
समूह 'एफ' मा रहेको बार्सिलोनाले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग खेल्दैछ । दुई बीचको खेलमा विजेता टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् ।
दुवै टिम जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस समूहको शीर्ष स्थानको बार्सिलोनाले ४ खेलमा ८ अंक जोडेको छ । डर्टमण्डको ७ अंक रहेको छ ।
यस्तै अर्को खेलमा इन्टर मिलानले स्लाभियासँग खेल्नेछ ।
अन्य खेलमा इन्ग्लिश क्लब चेल्सीले भ्यालेन्सिया तथा आयक्सले लिलीसँग खेल्नेछ ।
त्यस्तै पिटर्सबर्गले लियोन र आरबी लेपजीगले बेन्फिकासँग खेल्नेछ ।