एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सार्रीले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडसँगको खेलअघि सार्रीले रोनाल्डो र आफुबीचको सम्बन्ध खराब नभएको बताए ।
'रोनाल्डोसँग मेरो सम्बन्ध निकै राम्रो रहेको छ,' सार्रीले भने, 'यदी कुनै खेलाडी सब्सीच्युड हुँदा रिसाउने गर्छ भने उसँग अझै प्रेरणा छ र यो सकारात्मक हो ।'
पछिल्लो समय रोनाल्डो र प्रशिक्षक सार्रीबीच खट्पट सुरु भएको अन्तराष्ट्रिय मिडियाले लेख्दै आएका थिए । तर, सार्रीले त्यस कुरालाई नकारेका छन् ।
सिरी 'ए' लिग अन्तर्गत एट्लान्टाविरुद्धको खेलमा ३-१ को जित निकाल्दा रोनाल्डो टिम बाहिर रहेका थिए । उनको घुँडामा लागेको चोटका कारण टिम बाहिर रहेको बताईएको थियो ।
तर, स्पेनिस क्लबविरुद्ध भने रोनाल्डोले खेल्न सक्ने प्रशिक्षक सार्रीले बताए ।
'हिजो उनले टिमसँग प्रशिक्षण गरे । उनको अवस्था सुधार हुँदै आएको छ तर त्यसको अझै मुल्यांकन हुन्छ,' सार्रीले भने, 'सकारात्मक कुरा उनले अभ्यासमा पुरै समय खेल्न सके ।'
युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा छनोट भईसकेको छ ।