काठमाडौं । नेपालले म्यानमारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले शनिबार मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।
नेपालले म्यानमारसँग कात्तिक २१ गते मैत्रीपूर्ण खेल खेल्नेछ । खेल म्यानमारमा हुनेछ ।
नेपाली टिममा भरत खवासले पुनरागमन गरेका छन् । भरत पछिल्लो पटक गत मार्चमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।
कुवेतसँगको खेलपछि भरत विभागीय तालिम फ्लाइट डिस्प्याचर र फ्लाइट अपरेसन अफिसर तालिमका लागि थाइल्याण्ड गएका थिए ।
भरत राष्ट्रिय टिम बाहिर रहदा नेपालले नेपालले विश्वकप छनोटका ४ खेल र ३ मैत्रीपूर्ण खेल खेलिसकेको छ ।
भरतसँगै गोलकिपर एलेन न्यौपानेले टिममा पुनरागमन गरेका छन् । यस्तै मिडफिल्डर सुवास गुरुङ र मिक्चेन तामाङले पहिलोपटक टिममा स्थान बनाएका छन् ।
यस पटक कप्तान तथा गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ टिममा छैनन् ।
किरण भारतीय आईलिग टिम मिनेर्वा पन्जाबको टिमसँग रहेका छन् । यस्तै रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिगमा व्यस्त छन् ।
कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रुपमा हेरिएको छ ।
विश्वकप छनोटको समूह 'बी' मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
नेपाली टिम :
गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बाल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ
फरवार्ड : भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ