काठमाडौं । ललितपुरे 'ए' डिभिजन क्लब थ्री स्टारले बंगलादेशमा आयोजना हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा सहभागिता जनाउने भएका छन् ।
थ्री स्टारले आइतबार राजधानीमा भएको क्लबको वार्षिक अधिवेशनको दौरान प्रतियोगिता खेल्ने जानकारी गराएको हो ।
'थ्री स्टारले प्रतियोगिता खेल्ने पक्का भएको छ। अब हामी खेलाडीको तयारीमा लाग्ने छौँ,' कार्यक्रममा क्लबका महासचिब सन्जिब शिल्पकारले भने ।
बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा हुने प्रतियोगिता आगामी कात्तिक २ देखि १३ गते सम्म चितागोङमा हुनेछ । यस प्रतियोगिता तेस्रो संस्करणको हुनेछ ।
एमए अजिज स्टेडियममा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा थ्री स्टारसहित बंगलादेशको चितागोङ अबहानी, बसुन्धरा किङ्स, ढाका अबहानी, भारतको मोहन बगान, मोहमादेन स्पोर्ट्स क्लब र माल्दिभ्सको टीसी स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने छन् ।
गत संस्करणमा नेपालबाट मनाङ मर्स्याङ्दीले प्रतिस्पर्धा गरेको थियो । मनाङ सेमिफाइनलसम्म पुगेको थियो ।