एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविकको विजेता युभेन्ट्सले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सिमित हेलास भेरोनालाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन आरोन रामसे र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । भेरोनाका मिगुएल भेलेसोले एक गोल गरे ।
एलिनाज स्टेडियममा एक गोलले पछि परेको स्थिति उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।

खेलको २० औं मिनेटमा मिगुएलले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा आरोनले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । यस्तै खेलको ९० औं मिनेटमा माराशले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा भेरोना १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै युभेन्ट्सले ४ खेलबाट १० अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा समेत उक्लिएको छ। पराजित भेरोना ४ अंक जोडेर १२ औं स्थानमा छ ।
