काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।
गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गर्ने भएको हो ।
यद्दपी सन्दीप र मेलवर्नबीच औपचारिक सम्झौता हुन भने बाँकी रहेको छ । तर, नयाँ सम्झौताको प्रारम्भिक प्रकिया भने अघि बढिसकेको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले खेलपाटीलाई जानकारी गराए ।
शिवाकोटीले सन्दीप र क्लबले आधिकारिक सम्झौता गर्न मात्र बाँकी रहेको बताए ।
'मेलवर्नसँग कुरा भईरहेको छ र त्यहीबाट खेल्ने सम्भावना छ,' शिवाकोटी खेलपाटीसँग भने, 'सम्झौता नभएसम्म भन्न सकिने अवस्था छैन ।'
मेलवर्नका प्रशिक्षक डेभिड हस्सीले सन्दीप यस सिजन क्लबमै रहने बताए ।
'अघिल्लो वर्ष सन्दीपले अद्भुत प्रदर्शन गरेका थिए । उनले थप सुधार गर्नेछन् । सन्दीपसँग ओपनिङ, मिडल र डेथ ओभर जुनै समय पनि बलिङ गर्ने क्षमता छ,' हस्सीले अष्ट्रेलियाको संचारमाध्यमसँग भनेका छन् ।
सन्दीपले बंगलादेश प्रिमियर लिगसँगको समय मिलाएर मात्र मेलवर्नसँग सम्झौता गर्ने बताईएको छ ।
गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए ।
गत सिजन मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।