एजेन्सी । श्रीलंका क्रिकेट टिमको पाकिस्तान भ्रमण अन्योलमा परेको छ ।
खेलाडीमाथि आतंकवादी हमला भएको १० वर्षपछि श्रीलंकाले पाकिस्तानको भ्रमण गर्ने तय भएपनि सुरक्षाको कारण भ्रमण अन्योलमा परेको हो ।
खेलाडीको सुरक्षाको विषयमा श्रीलंका सरकारले थप सतर्कता अपनाउन आग्रह गरेपछि श्रीलंकन क्रिकेट टिमको पाकिस्तान भ्रमण अन्योलमा परेको छ ।
आतंकवादी समूहले खेलाडीलाई हमला गर्ने पूर्व जानकारी पाएपछि श्रीलंका सरकारले क्रिकेट टिमको पाकिस्तान भ्रमणबारे चासो देखाएको हो ।
सन् २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंकाले पाकिस्तानको भ्रमण गरेको छैन । तर, लामो समयपछि श्रीलंकाको टिम पाकिस्तान जान सहमत भएका थिए ।
श्रीलंकाले घरेलु टोलीसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने छन् । २७ सेप्टेम्बरबाट सुरु हुने एकदिवसीय सिरिज कराँचीमा हुनेछ । यस्तै ५ अक्टोबरबाट सुरु हुने टी-ट्वान्टी सिरिज लाहोरमा हुनेछ ।
तर, सिरिजका लागि श्रीलंकाका १० सिनियर खेलाडीले पाकिस्तान भ्रमणमा जान अस्वीकार गरेका छन् ।
एकदिवसीय क्रिकेटका कप्तान दिमुथ करुणारत्ने, टी-ट्वान्टी क्रिकेटका कप्तान लासिथ मालिंगा र पूर्व कप्तान एन्जेलो मैथ्यूज, निरोशन डिक्वेला, कुशल परेरा, धनंजय डी सिल्भा, थिसरा परेरा, अकिला धनन्जय, सुरंगा लकमल, दिनेश चण्डीमाल लगायतका खेलाडी रहेको श्रीलंका क्रिकेट बोर्डका अधिकारीले जनाएका छन् ।