एजेन्सी । वेष्ट इण्डिजमा जारी क्यारेबियन टी-ट्वान्टी क्रिकेट लिग (सीपीएल) क्रिकेटमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले शानदार जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा जमैका ताल्लवाहलाई ४ विकेटले पराजित गर्दै प्याट्रियट्सले शानदार जित निकालेको हो ।
जमैकाले दिएको २४२ रनको फराकिलो लक्ष्य प्याट्रियट्सले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । योसँगै प्याट्रियट्सले टी-ट्वान्टी क्रिकेटमा दोस्रो सर्वाधिक उच्च रनको लक्ष्य पुरा गर्न सफल भएको छ ।
प्याट्रियट्सको जितमा डेभोन थोमसले ७१ रन जोडे । यस्तै इभान लेविस ५३ रन बनाए । जमैकाका ओसाने थोमसले ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो ।
जमैकाको लागि क्रिस गेलले ११६ रनको शतकीय इनिङ्स खेले । यस्तै चाडविक वाल्टनले ७३ रन बनाए ।
प्याट्रियट्सका फाबियन एलेन र अल्जारी जोसेफले २/२ विकेट लिए ।
जमैकालाई हराएसँगै प्याट्रियट्सले लिगमा पहिलो जित समेत दर्ता गरेको छ । प्याट्रियट्सले ३ खेलमा २ अंक जोडेको छ । जमैकाको यो दोस्रो हार हो ।