काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको अन्तिम लिग खेलमा नेपालले अहिले ताजिकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ताजिकिस्तानसँग गोलरहित बराबरी खेलेको छ ।
तुलनात्मक कमजोर टिम ताजिकिस्तानविरुद्ध पाएको अवसरमा चुक्दा नेपालले पहिलो हाफमा बराबरी खेलेको हो ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा मन्जली कुमारी योन्जनले गोल गरेपनि रेफ्रीले अफसाइडको इशारा गर्दा नेपाल अग्रता बनाउन चुकेको थियो ।
ताजिकिस्तानविरुद्ध नेपाल नियमित कप्तान निरु थापा बिना मैदान उत्रिएको छ । नेपालको कप्तानी रेनुका नगरकोटीले गरेकी छिन् । उज्वेकिस्तानविरुद्धको खेलमा घाईते भएपछि निरु मैदान बाहिर रहेकी हुन् ।
निरुको स्थानमा नेपालले सुरु लिम्बुलाई सुरुवाती-११ मा खेलाएको छ ।
ताजिकिस्तानविरुद्ध नेपाल जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाललाई फाइनल पुग्न एक जितको आवश्यकता रहेको छ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले ताजिकिस्तानलाई पराजित नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुग्नेछ । उज्वेकिस्तान फाइनल पुगिसकेको छ ।