एजेन्सी । स्कटल्याण्ड युरो कप छनोटबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा बेल्जियमसंग ४–० गोल अन्तरले पराजित हुदै स्कटल्याण्डकाे युरो कप खेल्ने सम्भावना सकिएको हो ।
केभिन डी ब्रुयना प्रेरित बेल्जियमले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । बेल्जियमको चारै गोलमा ब्रुयना संलग्न रहे ।

रोमेलु लुकाकुले नवौ मिनेटमा ब्रुयनाको पासलाई सदुपयोग गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । थोमस वर्मालेनले २४ औ मिनेटमा अग्रता दोब्बर पारे । उनले समेत ब्रुयनाको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
टोबी एल्डरविरेल्डले ३२ औ मिनेटमा बेल्जियमलाई ३–० ले अघि बढाए । ब्रुयनाको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । खेल सकिन ८ मिनेट बाँकी छदाँ ब्रुयनाले व्यक्तिगत रुपमा पहिलो गोल गर्दै बेल्जियमलाई प्रभावशाली जित दिलाए ।

शीर्ष स्थानको बेल्जियमले समुह आईको खेलमा सतप्रतिशत जित निकाल्दै ६ खेलबाट १८ अंक जोडेको छ । स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ ।
स्कटल्याण्ड दोस्रो स्थानको रुस भन्दा ९ अंकले पछाडी परेको छ । स्कटल्याण्डले अब मात्र तीन खेल खेल्न बाँकी छ ।