काठमाडौं । काठमाडौं जेभियर, इनोभेटिभ र स्वप्न वाटिकाले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
काठमाडौं जेभियर सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गल्र्स र स्वप्न वाटिका जुनियर ब्वाइजमा च्याम्पियन बने ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा काठमाडौं जेभियरले न्यु समिटलाई ५८–४५ ले पराजित गर्यो । काठमाडौं जेभियरको जितमा प्रशान्त चहरले २६ अंक योगदान गरे । प्रकाश केसीको २४ अंक सहयोगमा एसियन पब्लिकले स्पाङगेललाई ६५–५५ ले हराउदै तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले स्वप्न वाटिकालाई अत्तिरिक्त समयमा २७–२२ ले पाखा लगायो । निर्धारित समयको खेल १८–१८ को बराबरीमा टुंगिएको थियो । इनोभेटिभकी जेनिभा महर्जनले ९ स्कोर गरिन् । काठमाडौं जेभियरले एसियनमाथि १७–१२ को जित निकाल्दै तेश्रो स्थानमा रह्यो । काठमाडौं जेभियरकी सविना खड्काले ९ अंक बटुलिन् ।
शंखमूलस्थित एआईएको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा स्वप्न वाटिकाले एसियनलाई २७–१८ ले पन्छायो । स्वप्न वाटिकाका प्रतीक राउत र अश्विक केसीले समान ९–९ अंक जोडे । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा हेम्सले चैतन्यलाई ११–८ ले पराजित गर्यो । हेम्सका महेशराज भाटले ८ स्कोर गरे ।
सिनियर ब्वाइजम काठमाडौं जेभियरका प्रशान्त चहर, सिनियर गल्र्समा इनोभेटिभकी जेनिभा महर्जन र जुनियर ब्वाइजमा स्वप्न वाटिकाका अश्विक केसी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा स्पाङगेलका रोहित बलामी, सिनियर गल्र्समा काठमाडौं जेभियरकी अपेक्षा गुरुङ र जुनियर ब्वाइजमा हेम्सका महेशराज भाट उदीयमान खेलाडी चुनिए । सिनियर ब्वाइजमा न्यु समिटका सशांक महर्जन (१०५ अंक), सिनियर गल्र्समा स्वप्न वाटिकाकी सम्झना शाही (३३ अंक) र जुनियर ब्वाइजमा एसियनका सिमोन गुरुङ (५० अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), केन्द्रीय प्याब्सनका पूर्व अध्यक्ष लक्ष्यबहादुर केसी, केन्द्रीय प्याब्सनका सल्लाहकार भोजबहादुर शाह, आयोजक कमिटीका अध्यक्ष गगनसिंह ऐर, काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एआईएका प्रिन्सिपल विष्णुप्रसाद अर्याल, कार्यक्रम संयोजक विमल घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ १३ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न २४ विद्यालयका ५३ टिम सहभागी थिए । सिनियर ब्वाइजमा २५, सिनियर गल्र्समा १२ र जुनियर ब्वाइजमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । अर्को संस्करण डिल्लीबजारस्थित सूर्योदय स्कुलमा हुने भएको छ ।