काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्ध उत्कृष्ट खेल पस्कने बताएका छन् ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि दोस्रो चरणको छनोट अन्तर्गत ताइपेसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक कालिनले घरेलु टिमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
'सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी यहाँ फुटबल खेल्न आएका हौँ र उत्कृष्ट फुटबल पस्किने छौँ,' कालिनले भने ।
नेपालले भोलि मंगलबार ताइपेसँग खेल्नेछ । ताइपे स्टेडियममा हुने खेल नेपाली समय अनुसार ४:५५ मा सुरु हुनेछ ।
यस्तै प्रशिक्षक कालिनले नेपालले गत जेठको प्रदर्शनलाई निरन्तरता दिने समेत बताए । 'हामी गत जुनको प्रदर्शन दोहोर्याउन आतुर छौँ,' कालिनले थपे ।
नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताइपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।
विश्वकप छनोटको पहिलो खेलमा भने नेपालले खराब प्रदर्शन गरेको थियो । नेपालले बिहिबार कुवेतसँग ७-० को फराकिलो हार व्यहोर्दै छनोट सुरुवात गरेको हो ।
प्रशिक्षक कालिन कुवेतविरुद्ध खराब प्रदर्शन गरेको समेत स्वीकार गरेका छन् । तर, उनले उक्त गल्ती ताइपेविरुद्ध नगर्ने समेत बताए ।
'हाम्रो लागि अघिल्लो खेल निराशाजनक रह्यो । हामीले सबै गोल आफ्नै गल्तीले खायौँ। हामीले कुवेतविरुद्ध खराब फुटबल खेलेका थियौँ तर हाम्रो मुख्य लक्ष्य लयमा फर्कनु हुनेछ । हामीलाई थाहा छ गल्ती कहाँ रह्यो,' प्रशिक्षक कालिनले भने ।
यस्तै प्रशिक्षक कालिनले ताइपे बलियो टिम रहेको कारण कमजोर नसोच्ने बताए ।
'ताइपे राम्रो टिम हो । उनीहरुलाई कमजोर आँकलन गर्नु गल्ती हुनेछ । यो टिम कुवेतजत्तिकै राम्रो छ,' कालिनले भने, 'हालै कुवेतले हङकङलाई हराएको थियो । हामीले खेलका लागि योजना बनाईसकेका छौँ ।'
प्रशिक्षक कालिनले लामो यात्राको कारण नेपालले पूर्ण तयारी गर्न नपाएको समेत बताए ।