काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विश्वकप छनोट अन्तर्गत घरेलु टिम चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्न टिम तयार रहेको बताएका छन् ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत चाइनिज ताइपेसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले घरेलु टिमको सामना गर्न टिम तयार रहेको बताए ।
'हामीले यहाँ आउनुअघि नै सबै तयारी गरेका थियौं । हामीले कुवेतसँग पनि खेल्यौं । हामी ताइपेको सामना गर्न तयार छौँ,' कप्तान किरणले भने ।
नेपालले भोलि मंगलबार ताइपेसँग खेल्नेछ । ताइपे स्टेडियममा हुने खेल नेपाली समय अनुसार ४:५५ मा सुरु हुनेछ ।
तर, कप्तान किरणले ताइपेसँगको खेलअघि राम्रो तयारी गर्न भने नपाएको बताए ।
'हामीले यहाँ धेरै तयारी गर्न पाएनौ । हामीले हिजो सामान्य अभ्यास गरेका थियौं । आज पनि खेलअघिको ट्रेनिङ ढिला भयो । तर, हामी तयार छौँ,' किरणले थपे ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले गत बिहिबार कुवेतसँग उसैको मैदानमा खेलेको थियो । तर, नेपालले उक्त खेलमा ७-० को फराकिलो हार व्यहोरेको थियो ।
तर, नेपाल ताइपेसँग भने अंक खोस्न चाहन्छ । नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताइपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।
विश्वकप छनोटको पहिलो खेलमा भने ताइपे जोर्डनसँग २-१ ले पराजित भएको थियो ।