काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल बलियो टिम उज्वेकिस्तानसँग २-० ले पराजित भएको हो ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । नेपालले दुवै गोल डिफेन्डर र गोलरक्षकको कमजोरीमा व्यहोरेको थियो ।
खेलको ३४ औं मिनेटमा काराचिक लुडमिलाले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ५० औं मिनेटमा साफिना रुशानियाले गोल गर्दै उज्वेकिस्तानलाई २-० को जित दिलाईन् ।
यस्तै खेलको १० औं मिनेटमा चोट बोकेपछि कप्तान निरु थापा मैदानबाट बाहिरिएकी थिइन् । उनको स्थानमा सरु लिम्बु मैदान प्रवेश गरेको थिइन् ।
जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालको दुई खेलबाट ३ अंक रहेको छ ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टिम किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो । उज्वेकिस्तानले भने ताजकिस्तानलाई १२-० ले हराएको थियो ।
अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपालले प्रतियोगिता खेलेको हो । १३ औं साग मंसिर १५ बाट २४ सम्म आयोजना हुनेछ ।