काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा लज्जास्पद हार व्यहोरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले खेलमा भएको गल्तीको विश्लेषण गर्ने बताएका छन् ।
छनोट अन्तर्गत बिहिबार राति भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७-० गोल अन्तरले पराजित भएको थियो । कुवेतसँगको फराकिलो हारपछि बोल्दै प्रशिक्षक कालिनले नेपलले खराब प्रदर्शन गरेको र यस प्रदर्शनमा भएको गल्ती आफुले विश्लेषण गर्ने बताए ।
'हामीले नतिजामा भन्दा प्रदर्शनमा ध्यान दिने भनेका थियौं । तर, हामीले आज राम्रो खेल्न सकेनौं । म विश्लेषण गर्न चाहन्छु । हाम्रो गल्ती कहाँ रह्यो,' पोस्ट म्यान कन्फरेन्समा कालिनले भने ।
बलियो टिम कुवेतविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खाएको थियो । दोस्रो हाफमा भने ५ गोल खादै फराकिलो हार व्यहोर्नु परेको थियो ।
प्रशिक्षक कालिनले टिमको डिफेन्स मजबुद रहेको भएपनि तयारी अनुरुप खेलाडीले नखेल्दा धेरै गोल खाएको समेत बताए ।
'हामीसंग राम्रो डिफेन्स छ । ७ गोल मूर्खतापूर्ण गोल थियो । दुई गोल खाएपछि डिफेन्डरले दबाबमा खेले,' प्रशिक्षक कालिनले भने, 'डिफेन्डरले मात्र हैन पुरै टिम डिफेन्समा थियो । हामीले हाम्रो तयारी अनुसार खेल्न सकेनौं । हामी खुसी छैनौँ ।'
कुवेत राम्रो टिम रहेको र नेपालले कुवेतलाई नियन्त्रण गर्न नसक्दा आश्चर्यजनक नतिजा आएको कालिनको भनाई छ । यस्तै कालिनले अर्को खेलमा राम्रो गर्ने लक्ष्य लिएको बताए ।
अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।