एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कपको छनोटमा स्पेनले साँघुरो जित निकालेको छ ।
बिहिबार राति भएको खेलमा १० खेलाडीमा सिमित स्पेनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
रोमानियाको मैदानमा स्पेनलाई जित दिलाउन सर्जियो रामोस र पाको अल्कासरले एक एक गोल गरे । रोमानियाका फ्लोरिन इन्डोनले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनलाई २-० अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा रोमानियाका फ्लोरिनले गोल गर्दै खेल २-१ मा ल्याए । त्यसपछि खेलमा दुवै टोलीबाट थप गोल भएन र स्पेनले २-१ को जित निकाल्यो ।
यस्तै खेलको ७९ औं मिनेटमा डिएगो लोरेन्टोले रातो कार्ड पाउँदा स्पेन १० खेलाडीमा समेटिएको थियो ।
यो जितसँगै समूह 'एफ' मा स्पेनले अपराजित यात्रा कायम राखेको छ । स्पेनको यो छनोटमा पाँचौं जित हो । स्पेनले ५ खेलबाट १५ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा छ । ५ खेलमा ७ अंक जोडेको रोमानिया चौंथो स्थानमा छ ।