काठमाडौं । कुवेतविरुद्व खेल्दै नेपालले फिफा विश्वकप छनोटको सुरुवात गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले आज (बिहिबार) पहिलो लेगमा घरेलु टोली कुवेतविरुद्व खेल्न लागेको हो ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ ।
पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह बीमा छ । नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत, जोर्डन र चाईनिज ताईपे समावेश छन् ।
नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिन नेपाली टिमलाई अन्डरडग मान्छन् । सोही कारण अन्डरडग नेपाल छनोटका अधिकांश खेलमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।
तर शारीरिक र प्राविधिक रुपमा उत्कृष्ट कुवेतविरुद्वको खेल नेपाली टिमलाई पक्कै कठिन हुनेछ ।
फिफा वरियतामा नेपाल भन्दा कुवेत दश स्थानमात्र माथि छ । नेपाल १ सय ६६ र कुवेत १ सय ५६ औ स्थानमा छ ।
तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन नसकेको ईतिहासबारे मुख्य प्रशिक्षक कालिन समेत जानकार छन् ।

कालिनलाई आशा जगाउने एउटै बिषय भनेको कुवेतविरुद्व नेपालको पछिल्लो प्रर्दशननै हो । नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
पहिलो खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो खेल नेपालले १–० ले गुमाएको थियो, त्योपनि पेनाल्टीमा । त्यसैले कुवेतलाई घरेलु मैदानमा हराउँदै नेपाली फुटलबको नतिजामा सकारात्मक छाप छाड्ने मुडमा मुख्य प्रशिक्षक कालिन रहेका छन् ।
'हामीलाई थाहा छ, कुवेत बलियो टिम हो । तर कडा चुनौती हामी दिनेछौ । उत्कृष्ट प्रर्दशन गरेर देखाउने छौ ।' खेलअघि पत्रकारसंग कालिनले प्रष्टसंग भने ।
विश्वकप छनोटको ड्र सार्वजनीक हुने बित्तिकै नेपाल घरेलु मैदानको जोहो गर्न नसकेर सबै खेल अवे मैदानमा खेलाउनुपर्ने बाध्यतामा थियो । तर अखिल नेपाल फुटबल संघ एन्फाले समुहका सबै देशलाई पत्राचार गर्दै नेपालले सुरुमा अवे खेल खेल्ने व्यवस्था मिलाएको हो ।
एसियाली फुटबल महासंघ एएफसीले सार्वजनीक गरेको तालिका अनुसार नेपालले पहिला होम गेम खेल्नुपर्ने थियो ।
तर एकमात्र अन्तराष्ट्रिय स्तरको दाबी गरिने दशरथ रंगशाला निर्माणाधिन अवस्थामा रहेका कारण नेपाल सूरुमा होम गेम आयोजना गर्न नसक्ने अवस्थामा थियो ।
विश्वकप छनोटको ड्र सार्वजनीक हुने बित्तिकै एन्फा सूरुमा अवे खेलको व्यवस्था गर्ने चक्करमा फस्दा नेपाली फुटबल टिमले पर्याप्त मैत्रीपुर्ण फुटबल खेल्ने अवसर पाएन । अन्तिममा मलेसियाको लिग च्याम्पियन क्लबसंग एक मात्र अभ्यास म्याच खेल्ने अवसर पाएको थियो ।

सिमित स्रोत साधनका बिच नेपाली टिमले ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा कडा अभ्यास गरेको थियो । सो बिषयमा प्रशिक्षक कालिन समेत जानकार छन् ।
'हामीसंग राम्रो स्रोत र साधन छैन । हामी राम्रो गर्ने प्रयास गर्नेछौ । खेलाडीले कडा मेहनत गरेका छन् । हामीले मार्चमा खेलेका थियौ । खेलाडीले त्यसमा राम्रो गरेका थिए । अहिले हाम्रो प्रर्दशनमा सुधार भएको छ ।' कालिनले भनेका छन्, 'हामी नतिजाका लागि खेल्दैनौ । हामीलाई थाहा छ, हामी अन्डरडग टिम हौ । सबै टिमलाई सम्मान गछौ तर डराएर खेल्दैनौ ।'
मुख्य प्रशिक्षकमा नियुक्त भएपछि कालिनले खेलाडीको फिटनेसलाई टिम बनोटको पहिलो आधार मानेका छन् । उनले अनफिट खेलाडीलाई पहिलो चरणबाटै निकाल्ने गरेका छन् । सोही कारण नियमित कप्तान विराज महर्जन फिटनेसका कारण टिम बाहिर रहे । उनको अनुस्थितीमा टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन् ।
'कुवेत बलियो टिम हो । उनीहरुको हामी आदर गछौ ।' कप्तान किरणले खेलअघि भने, 'हामी प्रतिस्पर्धा गर्न तयार छौ । भोलीको खेलमा हामी रमाउने छौ । तयारी समेत राम्रो गरेका छौ ।'
नवयुग नखेल्ने सम्भावना
स्ट्राइकर नवयुग श्रेष्ठले कुवेतविरुद्धको खेल गुमाउने सम्भावना छ । खेलको अघिल्लो दिन नवयुग श्रेष्ठको स्वास्थ अवस्था खराव देखिएकाले कुवेतविरुद्धको खेल गुमाउन सक्ने सम्भावना भएको हो ।
आईतबार कुवेत प्रस्थान गरेको नेपाली टिमका सदस्य नवयुग श्रेष्ठलाई ज्वेरोको समस्या देखापरेपछि कुवेतविरुद्ध मैदान उत्रने सम्भावना कम छ ।

स्विडिस प्रशिक्षक जोहान कालिनले कुवेतविरुद्धको खेलका लागि नवयुग श्रेष्ठसँगै विमल घर्ति मगर र अभिषेक रिजाललाई फरवर्डका रुपमा टाेलीमा समावेश गराएका छन् ।
हेड टु हेड
तुलनात्मक रुपमा बलियो रहेको कुवेत र नेपालबीच धेरै खेल त भएका छैनन् । जति भएका छन्, कुवेत बलियो देखिन्छ । 'हेड टु हेड'को आधारमा खेलिएका ६ खेलमा कुवेत ५ मा सफल भएको छ । एक खेल बराबरीमा सकिएको छ ।
नेपालले सन् १८८२ नोभेम्बरमा भएको एसियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो भेट सन् १९८६ को एसियन गेम्समा भएको थियो । नेपाल ५–० गोल अन्तरले पराजित भयो ।
सन् १९९४ मा भएको एसियन गेम्समा नेपालले कुवेतसँग सबैभन्दा खराब नतिजा निकाल्यो । नेपाल ८–० गोल अन्तरले पराजित भएको थियो ।
सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो ।

लगातार चार हारको श्रृङ्खला सन् २०१९ मा रोकियो । जोहान कालिनको नेतृत्वमा नेपालले चैत पहिलो साता कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । योनै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।
कालिनले पहिलो विदेश यात्रामा ५ खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएको थिए । पहिलो खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा १–० ले पराजित भयो । कुवेतले पेनाल्टीमा गोल गर्दै नेपाललाई निराश बनाएको थियो ।