एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले बराबरी खेलेको हो ।
आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट्स र पेरी एम्रिक आबुमियाङले एक एक गोल गरे । टोटेनहमका क्रिस्टियन एरिक्सन र ह्यारी केनले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता टोटेनहमले खेलको १० औं मिनेटमा एरिक्सनको गोलबाट लिएको थियो । ४० औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ४५ औं मिनेटमा आर्सनलका लाकाजेट्सले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा आबुमियाङले गोल गर्दै खेल २-२ को बराबरी ल्याउदै आर्सनललाई हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनलले ४ खेलबाट ७ अंक जोडेको छ । आर्सनलको यो पहिलो बराबरी हो । आर्सनल लिगको पाँचौ स्थानमा रहेको छ ।
टोटेनहमको यो दोस्रो बराबरी हो । टोटेनहमले ४ खेलबाट ५ अंक जोडेको छ । टोटेनहम नवौं स्थानमा रहेको छ ।
