एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।
शनिबार राति भएको खेलमा बर्नलीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।
लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए ।

लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता बानाएको थियो । खेलको ३३ औं मिनेटमा वुडले आत्मघाती गोल गर्दा लिभरपुल १-० ले अघि रह्यो । ३७ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २-० ले अघि रह्यो ।
दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो । खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए । योसँगै फिर्मिन्हो प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् ।

यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकाल्दै अपराजित यात्राको कीर्तिमान बनाएको छ ।
जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ ।
पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।


