प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको शुक्रबार भएको दोश्रो खेलमा बाँके विजयी भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकास्थित बेलझुण्डी रंगशालामा भएको प्रतियोगितामा बाँकेले रुपन्देहीलाई १-० गोल अन्तरले हराएको हो ।
बाँकेका तर्फबाट यमबहादुर बुढाथोकीले विजयी गोल गरेका थिए । २५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई यमले गोलमा परिणत गरेका थिए ।
शुक्रबार बिहान भएको खेलमा बर्दिया विजयी भएको थियो । बर्दियाले रोल्पामाथि ३-० को जीत निकालेको हो ।
भोली (शनिबार) पनि दुई खेल हुनेछन् । बिहान नवलपरासी र रोल्पा तथा अपरान्ह बर्दिया र रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा भइरहेको मुख्यमन्त्री फुटबल प्रतियोगितामा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि ६ जिल्लाको सहभागिता छ ।
प्रतियोगिता आगामी भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले २ लाखसहित कप तथा उपविजेताले १ लाख पुरस्कार पाउने छ ।