काठमाडौं । मलेसियालको लिग च्याम्पियन जोहार डारुम टाजिम एफसीविरुद्धको मैत्रीपुर्ण खेलसँगै नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले नयाँ कप्तान पाएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले मलेसिया जाने टोलीलाई विदाई गर्दै राष्ट्रिय टिमको नयाँ कप्तानको रुपमा सुजल श्रेष्ठलाई जिम्मेवारी दिएको हो । नियमित कप्तान विराज महर्जन टोलीबाट बाहिर रहनु र उपकप्तान किरण पनि जापानमा ट्रायलमा ब्यस्त रहँदा नेपाली टिममा नयाँ कप्तान आउने तय भएको थियो ।
नेपाली टिम शुक्रबार राति साढे १० बजे मलेसिया प्रस्थान गर्नेछ । नेपालले मलेसियन लिग च्याम्पियन जाहोरसँग सोमबार मैत्रिपुर्ण फुटबल खेल खेल्दैछ ।
मैत्रीपुर्ण खेलका लागि २३ सदस्यीय टिमको घोषणा यसअघिनै भईसकेको छ ।

नयाँ कप्तानको जिम्मेबारी पाएसँगै सुजल श्रेष्ठले टिममा सबै खेलाडी कप्तानको लायक भएको बताए ।
‘आधिकारीक कप्तान म भए तर मैदानमा सबै खेलाडी कप्तानको लायक छन् । टिम खेल खेल्ने हो, यहाँ जसले पनि कप्तानी गर्न सक्छ ।’ उनले भने ।
कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नेपालले मलेसियन क्लबसँग मैत्रिपुर्ण खेल खेल्न लागेको हो ।
कप्तान श्रेष्ठले आफु कप्तान हुनेमा विश्वस्त रहेको बताउँदै मलेसियाको भ्रमणमा कुनै दबाब नलिने बताए ।
‘कप्तान हुन्छु भनेर सोचेको थिए, भएपनि । तर कप्तान हुँदैमा कुनै दबाव लग्दिन, हुदैन पनि ।’ उनले भने ।
यसअघि सुजलले बंगलादेशमा आयोजना भएको बंगबन्धु गोल्डकपमा नेपाली टिमको ‘आर्मब्याण्ड’ लगाएका थिए । नियमित कप्तान विराज महर्जन र त्यसपछि निराजन खड्काले मैदान छाडेपछि उनले कप्तानी जिम्वेवारी लिएका थिए ।
उनले दुई महिना देखि तयारीमा रहेको टिममा नयाँ तथा युवा खेलाडी रहेको कारण राम्रो नतिजा आउने बताए ।
‘टिममा नयाँ साथै युवा खेलाडी छन् । अभ्यासमा सबैको उस्तै प्रर्दशन रहेको छ । सबैबाट राम्रो प्रदर्शनको आशा छ ।’ उनले भने ।
‘नयाँ प्रशिक्षक आएपछि खेलाडी टिम भित्र र बाहिर पर्ने क्रम जारी छ । यसले खेलाडीमा चुनौती थपेको छ । त्यसैले राम्रो नतिजाको आश छ ।’ उनले थपे ।
फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले खेलाडीको तयारी राम्रो रहेको भन्दै राम्रो नतिजा आउनेमा आशावादी रहेको बताए ।
‘खेलाडीको व्यवहार राम्रो छ । लडाई गर्न सक्ने चरित्र खेलाडीले देखाएका छन् ।’ उनले भने, ‘नतिजा के आउछ भन्न सक्दिन तर राम्रो आउँछ ।’