काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिपको टिकट मूल्य २ सय तोकेको छ ।
एन्फाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतियोगिता हेर्न जाने दर्शकहरुको टिकट मूल्य २ सय राखिएको जनाएको छ ।
स्वयम्भुस्थित सशस्त्र प्रहरी बल एपीएफको हल्चोक मैदानमा हुने साफ यू–१८ असोज ३ देखि १२ गतेसम्म चल्नेछ ।प्रतियोगितामा प्रत्येक दिन एक खेल हुनेछ ।
प्रतियोगितामा दुई पटकको च्याम्पियन नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् । नेपाल सन् २०१५ र २०१७ को च्याम्पियन हो ।
नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
एन्फाले प्रतियोगिता आयोजना गर्दा १ करोड ८० लाख खर्च हुने जनाएको छ । जसको परिपुर्ति टिकट र साफको अनुदान मार्फत हुने प्रेस विज्ञप्तीमा जानकारी गराएको छ ।
यस्तै एन्फाले प्रतियागिता भव्य सम्पन्न गर्न एन्फाका उपाध्यक्ष विर बहादुर खड्काको संयोजकत्वमा एक समिति गठन गरेको जनाएको छ ।
एन्फाले सहभागी टिमको अभ्यासको लागि ललितपुरको बुद्धि विकास खेल मैदान र त्रिभुवन आर्मी क्लबको राजदल खेलमैदान मिलाईएको छ ।
त्यस्तै एन्फाले यस प्रतियोगिता आयोजना गर्दा युवा फुटबल खेलाडीलाई थप उत्साह मिल्ने र नेपाल पनि अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने सकारात्मक सन्देश जाने बताएको छ । यस्तै नेपालले सन् २०२० को पर्यटन वर्ष मनाईरहँदा यस प्रतियोगिता आयोजना गर्दा पर्यटन प्रवर्धनमा समेत मद्धत पुग्ने एन्फाले विश्वास लिएको छ ।
