काठमाडौं । घरेलु मैदानमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।
साफले बिहिबार दोस्रो पटक सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी माल्दिभ्स पाएको हो ।
समूह 'ए' को नेपालले माल्दिभ्ससँग असोज ३ गते खेल्नेछ ।
साविकको विजेता समत रहेको नेपालले दोस्रो तथा अन्तिम खेलमा भुटानसँग असोज ५ गते खेल्नेछ ।
शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाएपछि साफले दोस्रो पटक खेल तालिका सार्वजनिक गरेको हो । यसअघि नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने तालिका रहेको थियो ।
प्रतियोगिताको लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरिसकेको छ ।