एजेन्सी । पोर्चुगलको युवा स्टार जोआओ फेलिक्सले आफु पनि क्रिस्टियानो रोनाल्डो जस्तो बन्न चाहेको बताएका छन् ।
कीर्तिमानी मुल्यमा स्पेनिस क्लब एट्लेटिको मड्रिड आएको फिलिक्सले युभेन्ट्सका स्टार रोनाल्डो जस्तै आफुले करियर बनाउन चाहेको उल्लेख गरेका हुन् । फिलिक्सले पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट रोनाल्डोसंग खेलिसकेका छन् ।
उनी नयाँ सिजन कीर्तिमानी मुल्य १ सय ३२ मिलियन पाउण्डमा बेन्फिकाबाट एट्लेटिको मड्रिड आएका हुन् ।
उनले रोनाल्डोसंगै सुरुवातमा रहेर खेल्दै पोर्चुगलबाट युईएफए नेसन्स लिगको च्याम्पियन बनेका थिए ।
फिलिक्सले आफ्नो सपना रोनाल्डोको जस्तै करियर रहेको उल्लेख गरेका हुन् ।
‘रोनाल्डोले पाँच पटक वालेन डी ओरको उपाधि जितेका छन् । सबै खेलाडीका लागि यो सपना हो ।’ उनले भनेका छन्, ‘पक्कैपनि म रोनाल्डो जस्तै बन्न चाहन्छु ।’
फिलिक्सलाई युरोपका शीर्ष क्लबले अनुबन्धन गर्ने ईच्छा देखाएका थिए । तर एट्लेटिकोले एन्टोनी ग्रिजम्यानको विकल्पको रुपमा फिलिक्सलाई कीर्तिमानी मुल्य तिरेको हो ।
‘मैले एट्लेटिकोमा भएका फरवार्ड देखेको छु । महान खेलाडी छन् । उत्कृष्ट फरवार्ड छन् । म त्यसको सुचिमा रहन चाहन्छु । सोही कारण मैले क्लब रोजेको हुँ ।’ एट्लेटिको रोज्नुको कारणबारे उनले भने ।
उनले चोटका कारण क्लबले खेलेको पहिलो खेल गुमाएका थिए । तर गम्भिर चोट नभएका कारण उनी चाँडैनै टिममा फर्किए । उनले मड्रिड डर्बीमा एक गोल गर्दै दुई गोलको अवसर सिर्जना गरेपछि एट्लेटिकोले रियललाई ७–३ गोल अन्तरले हराएको थियो ।
एट्लेटिकोले नयाँ सिजनका लागि अनुबन्धन गरेको नौ जना खेलाडी मध्य फेलिक्स एक हुन् । नयाँ सिजन सुरु हुनु अघि एट्लेटिको युभेन्ट्स सहित थप तीन मैत्रीपूर्ण म्याच खेल्नेछ ।