काठमाडौं । ब्रिगेड ब्वाईज क्लबले चौंथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै ब्रिगेड च्याम्पियन बनेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन बृजेश चौधरीले निर्णायक गोल गरे । बृजेशले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । पृथ्वी चौधरीको प्रहार पुलिसका गोलरक्षक निशान्त खड्काले पन्च गरेपछि आएको रिबाउण्डमा बृजेशले गोल गरेका थिए ।
फाइनलमा गोल गरेसँगै बृजेश प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने । उनले प्रतियोगितामा ८ गोल गरे ।
योसंगै ब्रिगेडले लगातार दोस्रो पटक उपाधि जितेको छ । उपाधिसँगै ब्रिगेडले ३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो ।

एन्फाको पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेका थिए ।