एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ वेलले क्लब छाड्ने पक्का भएको छ । मुख्य प्रशिक्षक जिनेदिन जिदानले वेल्सका अन्तराष्ट्रिय फरवार्डले चाँडै क्लब छाड्ने बताएका छन् ।
‘उनी क्लब छाड्ने समयको निकै नजिक छन् ।’ जिदानले भनेका छन् ।
प्रि–सिजनको पछिल्लो खेलमा जर्मन क्लब बार्यन म्युनिखसंग रियल पराजित हुदाँ वेललाई मैदान बाहिर राखिएको थियो ।
खेलपछि प्रतिक्रिया दिदै जिदानले भने, ‘हामी आशा गछौ, उनी चाँडै क्लब छाड्नेछन् । यो नै सबैका लागि राम्रो हुन्छ । हामी उनको सरुवाको बिषयमा नयाँ क्लबसंग छलफल गरिरहेका छौ ।’
‘उनीसंग मेरो ब्यक्तिगत केही छैन । एक समय आउँछ । जहाँ सबै चिज सम्पन्न हुन्छ । किनकी त्यो काम गर्न आवश्यक छ ।’ उनले भने ।

रियलसंग वेलको सम्झौता सकिन अझै तीन बर्ष बाँकी छ । उनी सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट कीर्तिमानी मुल्य ८५ मिलियन पाउण्डमा रियल मड्रिड आएका थिए । क्लबबाट उनले चार पटक च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।
उनी पछिल्लो समय प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड र टोटेनहमसंग जोडिएका छन् । जर्मन च्याम्पियन बार्यन म्युनिख र चाईनिज सुपर लिगको क्लबले समेत वेलमाथि आँखा लगाईरहेका छन् ।
चोटका कारण वेल पछिल्लो समय पिरोलिएका छन् । उनले पछिल्लो चार सिजनमा मात्र ७९ म्याच खेलेका थिए । उनले रियलका ४२ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
रियलका प्रशंसकले पछिल्लोे सिजन वेलमाथि आक्रोस ब्यक्त गरेका थिए । तर उनका एजेन्टले वेल रियलमा खुसी रहेको भन्दै उनी करियरनै मड्रिड क्लबबाट सक्न चाहेको उल्लेख गरेका थिए ।
‘मैले निर्णय लिएको छु ।’ जिदानले भने, ‘क्लबबाट बाहिरिने बिषय प्रशिक्षको निर्णय हो । र खेलाडीको समेत हो । जो सबै बिषयमा जानकार छ ।’
‘अवस्था परिवर्तन हुनेछ । मलाई थाहा छैन, यसका लागि २४ घण्टा लाग्छ कि ४८ घण्टा तर यो चाँडै हुनेछ । यो सबैका लागि राम्रो हो ।’ उनले थपे ।

वेलले गत सिजन बेन्चमै बसेर समय बिताएका थिए । जसले गर्दा घरेलु लिगमा रियल पछिल्लो २० बर्षकै ईतिहासमा खराब प्रर्दशन गर्न बाध्य भएको थियो । उसले १२ खेलमा पराजय भोगेको थियो ।
उसले ६८ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछाडी रह्यो । रियल च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा डच क्लब आयाक्ससंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
जिदान सिजनको तेस्रो प्रशिक्षकको रुपमा रियलमा पुनरागमन गरेका थिए ।
वेलका एजेन्टले जोनाथन वर्नेटले जिदानको आगमन निकै दुखद समाचार रहेको भन्दै फ्रेन्च प्रशिक्षक वेलसंग काम गर्न ईच्छुक नरहेको खुलासा गरेका थिए ।
वेलले रियलबाट चार च्याम्पियन्स लिग सहित एक ला लिगा, कोपा डेल रे र तीन युईएफए सुपर कप र क्लब विश्वकप जितेका थिए ।