काठमाडौं । फिफा विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा नेपालले सुरुमा ‘अवे म्याच’ खेल्ने भएको छ ।
देशको एकमात्र दशरथ रंगशाला निर्माणाधिन अवस्थामा रहेकाले नेपालले विश्वकप छनोटको सुरुवाती खेलहरु प्रतिद्वन्दी देशको मैदानमा खेल्ने भएको हो ।
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि नेपालले पहिलो पटक एसिया छनोटको दोस्रो चरण खेल खेल्दैछ । फिफाले गत बुधबार सार्वजनीक गरेको ड्र अनुसार नेपालको सामुहमा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपे रहेका छन् ।
सहभागी सबै देशले डबल राउण्ड रोबिन लिगका आधारमा एक खेल घरेलु मैदानमा र अर्को खेल अवे मैदानमा खेल्नुपर्नेछ ।

फिफाले सार्वजनीक गरेको तालिका अनुसार नेपालले सुरुमा कुवेत, जोर्डन र चाईनिज ताईपेसंग घरेलु मैदानमा खेल्नुपर्नेछ । कुवेतसंग सेप्टेम्बर ५ मा, जोर्डनसंग अक्टोबर १५ मा र चाईनिज ताईपेसँग सेप्टेम्बर १० मा घरेलु मैदानमा खेल्नुपर्नेछ ।
पहिलो चरणको अन्तिम खेल नेपालले अष्ट्रेलियासंग उसैको घरेलु मैदानमा अक्टोबर १० मा खेल्नेछ । तालिका अनुसार करिब डेढ महिनामा नेपालले पहिलो खेल घरेलु मैदानमा आयोजना गर्नुपर्नेछ ।
तर दशरथ रंगशालाको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्ने भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले सम्बन्धित देशका फुटबल संघलाई पत्र लेख्दै सुरुमा ‘अवे खेल’का लागि सहमती माग गरेको छ ।
एन्फाले कुवेत, जोर्डन र चाईनिज ताईपेसंग सुरुमा ‘अवे खेल’का लागि सहमती मागेको हो ।
विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा खेल्ने सबै खेल दशरथ रंगशालामा सञ्चालन गर्ने उद्वेश्यले एन्फाले सो प्रक्रिया अघि बढाएको जनाएको छ ।
एन्फा प्रवक्ता किरण राईले नेपालले घरेलु मैदानमा खेल्ने सबै खेल दशरथ रंगशालामै गराउने उद्वेश्यले प्रक्रिया अघि बढेको खेलपाटीलाई बताए ।
‘छलफल अघि बढेको छ । घरेलु मैदानमा हुने सबै खेल नेपालमा आयोजना गर्ने प्रयास गरिरहेका छौ ।’ उनले भने ।

२०७२ सालमा नेपालमा आएको भुकम्पले नेपालको एकमात्र रंगशाला क्षतिग्रस्त बनाएको थियो । रंगशलाको पुनर्निमाणमा समयमा अगाडी बढ्न नसक्दा दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको मिति तीन पटक सरिसकेको छ ।
सरकारले सागलाई दक्षित गर्दै दशरथ रंगशालाको निर्माण कार्य अघि बढाएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले कात्तिक १५ को समय सिमा राखेर रंगशाला हस्तान्तरणका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।
घरेलु मैदान तयार नहुदाँ नेपालले विश्वकप फुटबलको एसिया छनोटका खेलहरु प्रतिद्वन्दी देशकै मैदानमा खेल्ने सम्भावना समेत प्रबल छ ।
‘पहिलो चरणमा कुवेत, जोर्डन र चाईनिज ताईपेसंग घरेलु मैदानमा खेल्नु पर्ने भएकाले रंगशालाको तयारी नपुग्ने देखिएको छ । सोही कारण पहिलो चरणको ‘होम म्याच’लाई ‘अवे म्याच’ बनाउने गरि सम्बन्धित देशलाई पत्राचार गरेका छौ ।’ एन्फाका एक अधिकारीले खेलपाटीसंग भने, ‘सम्बन्धित सबै देश सकारात्मक छन् । उनीहरुले औपचारिक रुपमा सहमतीको पत्राचार गरेपछि एएफसीमा पत्राचार गर्ने प्रक्रिया अघि बढ्नेछ ।’
दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ ।
दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् । अन्य टोलीले छनोट खेल्नेछन् ।