काठमाडौं । चौंथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा आज (आइतबार) नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
ललितपुरको सातदोबाटोमा हुने एन्फा कम्प्लेक्समा हुने फाईनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
मैदानमा उत्रदै गर्दा दुवै टोलीको लक्ष्य उपाधि चुम्नु हुनेछ । ब्रिगेड ब्वाइज साबिकको विजेता हो । पुलिस भने पहिलो पटक फाइनल प्रवेश गरेको हो ।
ब्रिगेड लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ । पुलिस पहिलो पटक उपाधि जित्ने योजनामा छ । फाइनल अघि खेलपाटीसंग कुरा गर्दै दुवै टिमले उपाधिका लागि सक्दो कोशिश गर्ने बताईसकेका छन् ।
दुवै टोलीलाई उत्कृष्ट युवा खेलाडीको साथ छ । प्रतियोगितामा ब्रिगेडका बृजेश चोधरी र पुलिसका सन्जु सेन सर्वाधिक गोलकर्ता हुन् । दुवैले समान ७-७ गोल गरेका छन् । यस्तै ब्रिगेडका रोशन राना मगरले ६ गोल गरेका छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

पहिलो प्रशिक्षण भुमिकामै पुलिसलाई फाइनल पुर्याएका प्रशिक्षक भोलानाथ सिलवालले ब्रिगेड बलियो टिम भएपनि उसलाई हराएर उपाधि हात पार्ने दाबी गर्छन ।
‘ब्रिगेड बलियो टिम हो । तर, हाम्रो लक्ष्य भनेको उपाधिका लागि नै हुन्छ । हामी उपाधिका लागि भिड्नेछौ ।’ प्रशिक्षक भोलाले खेलपाटीसँग कुरा गर्दै भने, ‘ब्रिगेड हामी भन्दा धेरै राम्रो टिम हो । टप टिम हो । तर, पनि हामी जित्ने लक्ष्यका साथ अगाडी बढ्नेछौं । अघिल्लो खेलमा खेल्न नपाएका खेलाडी पनि यस पटक हामीसँग हुनेछन् ।’
'ए' डिभिजन लिग खेलको ९ खेलाडीसहित एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता रहेको ब्रिगेड प्रतियोगिताको एक मात्रै अपराजित टिम हो ।
समूह चरणको अन्तिम खेलमा पनि ब्रिगेडले पुलिसलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । तर, पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएर फाइनल पुगेको थियो ।
ब्रिगेडले भने सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । मनाङमाथि फराकिलो जित निकालेको कारण ब्रिगेड फाइनलमा ढुक्क छ ।
‘पुलिस पनि बलियो टिम हो । हामीले सामान्य सोचेर खेल्दैनौं । हामी जित्नकै लागि खेल्छौं ।’ ब्रिगेडमा मुख्य प्रशिक्षक सनोज श्रेष्ठले भने ।
प्रशिक्षक सनोजले पुलिसले डिफेन्सिभ खेल खेल्ने हुँदा आफुहरु सर्तक रहेर खेल्ने समेत बताउछन् ।
‘पुलिसले पक्कै पनि डिफेन्सिभ गेम खेल्छ । हामी त्यसलाई ब्रेक गर्न तयार भएर खेल्छौं । फाइनल खेल हो भन्न सकिदैन । ’ प्रशिक्षक सनोजले थपे ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।