एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम सनराइजर्स हैदरावादले मुख्य प्रशिक्षकमा ट्रेभोर बेलिसलाई नियुक्त गरेको छ ।
हैदरावादले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै विश्वकप विजेता प्रशिक्षक ट्रेभोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।हैदरावादले ७ वर्षबाट रहदै आएका प्रशिक्षक टम मोड्डीलाई बर्खास्त गर्दै ट्रेभोरलाई नियुक्त गरेको हो ।
मोड्डीको प्रशिक्षणमा हैदरावादले सन् २०१६ मा उपाधि सहित ५ पटक प्ले अफको यात्रा गरेको थियो ।
प्रशिक्षक ट्रेभोरले इंग्ल्याण्डलाई १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई बाउन्ड्रीको आधारमा पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको उपाधि जितेको थियो ।
यसअघि ट्रेभोरले कोलकाता नाइट राइडर्सबाट २ पटक आईपीएल उपाधि जितेका छन् । यस्तै सिड्नी सिक्सर्सबाट उनले अष्ट्रेलियाको बिग बास लिग र च्याम्पियन्स लिग जितेका छन् ।
ट्रेभोरले एसेस सिरिजपछि इंग्ल्याण्डको प्रशिक्षक छाड्ने छन् । अष्ट्रेलियन ट्रेभोरले सन् २०१५ मा इन्ग्लिश टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
