काठमाडौं। चेल्सी महिला टिमले वुमेन्स सुपर लिगमा २२ खेलको अपराजित यात्रा कायम गर्दै कीर्तिमान बनाएको छ। शनिबार स्टामफोर्ड ब्रिजमा लिभरपुललाई १–० ले पराजित गर्दै चेल्सीले ऐतिहासिक कीर्तिमान बनाएको हो।
पहिले नै लगातार छैटौंपल्ट लिग उपाधि जितिसकेको चेल्सीले १९ जित र ३ बराबरीसहित ६० अंक जोड्यो। यो दोस्रो स्थानको आर्सेनलभन्दा १२ अंक बढी हो।
खेलको इन्जुरी समयमा एगी बीभर–जोन्सले निर्णायक गोल गर्दै चेल्सीलाई जित दिलाइन्। त्यसपछि कप्तान मिल्ली ब्राइटले ट्रफी उठाइन्। वुमेन्स टप–फ्लाइट फुटबलमा अन्य टोलीले पनि अपराजित रहँदै उपाधि जितेका छन्।
तर, सन् २०१९–२० मा लिगमा १२ टोली समावेश भएपछि २२ खेलको सिजन अपराजित पूरा गर्ने चेल्सी पहिलो टोली हो। चेल्सीकी पहिलो सिजनकी प्रशिक्षक सोनिया बम्पास्तोरले यस उपलब्धिलाई धेरै ठूलो भन्दै प्रशंसा गरिन्।
‘हरेक खेल गाह्रो थियो, धेरैलाई पत्यार नलागे पनि। आज पनि अन्तिम मिनेटमा गोल गरेर जित्नुपर्यो,’ उनले भनिन्। चेल्सीले मार्चमा वुमेन्स लिग कप जितिसकेको छ। मे १८ मा म्यानचेस्टर युनाइटेडविरुद्ध वुमेन्स एफए कपको फाइनल खेल्दैछ।
योसँगै घरेलु ट्रेबल (तीन उपाधि) जित्ने चेल्सीको सम्भावना बलियो छ। यस सिजन चेल्सीको एक मात्र हार वुमेन्स च्याम्पियन्स लिग सेमिफाइनलमा बार्सिलोनासँग बेहोरेको थियो।
चेल्सी, आर्सेनल र तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले अर्को सिजनको वुमेन्स च्याम्पियन्स लिगमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्नेछन्। शनिबार ४६ हजार ६०३ दर्शकमाझ इमिरेट्स स्टेडियममा आर्सेनलले म्यानचेस्टर युनाइटेडलाई ४–३ ले हराउँदै दोस्रो स्थान सुरक्षित गर्यो।
अब आर्सेनलले मे २४ मा लिस्बनमा बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्नेछ।