काठमाडौं । ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोमा बिहिबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७-१ गोलको भारी अन्तरले पराजित गर्दै ब्रिगेड उपाधि नजिक पुगेको हो ।
एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गरे । यस्तै शिशिर लेखीले २ गोल गर्दा जय गुरुङ र बृजेश चौधरीले एक एक गोल गरे । मनाङका सचिन गुरुङले एक गोल फर्काए ।

यो जितसँगै ब्रिगेड लगातार दोस्रो पटक उपाधि नजिक पुगेको छ । अब ब्रिगेडले उपाधिका लागि नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
