काठमाडौं । दुई पटकको च्याम्पियन त्रिभुवन आर्मी क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
सातदोबाटोमा सोमबार भएको क्वाटरफाइनलमा जावलाखेल युथ क्लबसँग सडन डेथमा ४-३ गोल अन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । जावलाखेल भने सेमिफाइनलमा पुगेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि खेल ३-३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
सडन डेथमा जावलाखेलका राम गुरुङले विजयी गोल गरे । सडन डेथमा आर्मीका आशिष आले गोल गर्न चुकेका थिए ।
पेनाल्टीमा जावलाखेलका लागी राम गुरुङ, आशिष शाही,धिरज पुन मगर र अक्ष प्रधानले गोल गरे । सुरज गुरो र साचु गुरुङको प्रहार भने आर्मीका गोलकिपर विशाल सुनारले बचाए ।
आर्मीका बिनय चौधरी, शिव बोटे र विशाल सुनारले गोल गर्दा निशान गुरुङ, बिश्रान्त बस्नेत र अनिश आलेले गोल गर्न सकेनन् । निशान र बिश्रान्तको प्रहार जावलाखेलका गोलकिपर प्रज्वज शाहीले रोक्दा अनिशको प्रहार पोलमा लागेर फर्किएको थियो ।

जावलाखेलविरुद्ध आर्मीका कैलाश लामिछाने क्षेत्री र आशिष राई मैदान उत्रेनन् । अघिल्लो खेलमा पाएको रातो कार्डका कारण दुवै खेलाडी प्रतिबन्धमा थिए । जसको फाइदा जावलाखेलले उठायो ।
समूह चरणमा आर्मी समूह 'बी' को विजेता बनेको थियो । जावलाखेल भने समूह 'सी' बाट उत्कृष्ट तेस्रोमा पर्दै क्वाटरफाइनल पुगेको थियो ।
अब फाइनल प्रवेशको जावलाखेलले नेपाल पुलिस र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।