एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमारले आफु फुटबलमा 'सुपर हिरो र रोल मोडल' नभएको बताएका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले आइतबार एक कार्यक्रममा बोल्दै आफु फुटबलमा सुपर हिरो र पूर्ण रोल मोडल नभएको बताए ।
‘म सुपर हिरो हैन नत पूर्ण रोल मोडल हो । मसँग खराब क्षणहरु छन् । म घर फर्किदा त्यसलाई लुकाउने गर्छु र परिवार तथा साथीसँग रहन्छु,’ नेयमारले भने, ‘म त्यो सुपर हिरो हैन जसले विश्वको सबै समस्याहरुलाई सम्हाल्न सक्छ । तर म प्रयास गर्छु किनकि मलाई थाहा छ म मात्र मेरो परिवार र छोराको लागि हैन । यहाँ धेरै बच्चाहरु छन् ।’
नेयमार सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा र्कीतिमानी मूल्य २ सय २२ युरोमा अनुबन्ध भएका थिए । तर, पछिल्लो समय पीएसजीसँग खटपटका कारण नेयमार बार्सिलोना फर्किने कुरा चलिरहेको छ ।
नेयमारले चोटका कारण घरेलु मैदानमा सम्पन्न कोपा अमेरिका समेत गुमाएका थिए ।
यस्तै नेयमारले आफुसँग ठुलो जिम्मेवारी रहेको बताए । ‘मलाई थाहा छ मसँग ठूलो जिम्मेवारी छ र म राम्रो तरिकाले त्यसमा काम गर्न चाहन्छु । सधै इमानदार हुनु धेरै महत्वपूर्ण कुरा हो,’ नेयमारले भने ।
त्यस्तै नेयमारले चोटका कारण कोपा अमेरिका खेल्न नपाउनु आफ्नो लागि खराब रहेको बताए । उनले यस सिजनका लागि आफु तयार रहेको समेत बताए ।
‘कोपा अमेरिकामा बाहिर रहनु धेरै नराम्रो हो, मलाई मन पर्दैन ।’ नेयमारले थपे, ‘उनीहरुले जित्दा म धेरै खुशी भएको थिए । तिनीहरुको खुशी पनि मेरो पनि हो ।’