काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि अर्को साताबाट नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण साउन ५ गतेबाट हुने जनाएको छ ।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले सागका लागि नेपाली टोलीको बन्द प्रशिक्षण साउन ५ गतेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलपाटीलाई जानकारी गराए ।
'हामीले सागका लागि बन्द प्रशिक्षण एन्फा कम्प्लेक्समा गर्ने तयारी गरेका छौँ । बन्द प्रशिक्षण साउन ५ गतेबाट सुरु हुनेछ,' प्रशिक्षक खड्काले खेलपाटीसँग भने ।
यस्तै प्रशिक्षक खड्काले प्रारम्भिक चरणमा ४० महिला खेलाडीलाई बोलाउने जानकारी गराए ।
नेपालमा आयोजना हुने साग खेलकुद आगामी डिसेम्बरमा काठमाडौंमा हुनेछ । जसका लागि नेपालले तयारी सुरु गर्न लागेको हो ।
म्यानमारमा भएको ओलम्पिक छनोटको दोस्रो चरण खेलेपछि नेपाली टिम प्रशिक्षण विहिन अवस्थामा छ । त्यसयता नेपाली टिमले कुनै प्रतियोगिता खेलेको छैन ।
एन्फाले केही हप्ता अघि मात्र उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
सोही प्रतियोगितामा राम्रो प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर सागको प्रशिक्षण थाल्ने प्रशिक्षक खड्काले बताए ।