एजेन्सी । सेनेगल इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको पहिलो सेमिफाइनलमा ट्युनिसियालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सेनेगलले आत्मघाती गोलको उपहार पाउँदै फाइनलमा स्थान बनायो ।
खेलको १०१ औं मिनेटमा ट्युनिसियाका ड्यलान ब्रोनले आत्मघाती गोल गरेका थिए । र, सेनेगलको जितमा उक्त गोल नै निर्णायक बनेको थियो ।
यस्तै खेल अतिरिक्त समयमा जानुअघि दुवै टोलीले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ७५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी सास्सीले पेनाल्टी खेर फालेका थिए । त्यस्तै ८१ औं मिनेटमा सेनेगलका हेनरी सैभेटले पेनाल्टीमा गोल गर्न सकेनन् ।
अब उपाधिका लागि सेनेगलले अल्जेरिया र नाइजेरियाबीचको विजेतासँग खेल्नेछन् ।