काठमाडौं । साविकको विजेता ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएकोदोस्रो क्वाटरफाइनलमा एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्रिगेड अन्तिम ४ मा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा १० खेलाडीमा सिमित ब्रिगेडको जितमा बृजेश चौधरी र रोशन राना मगरले एक एक गोल गरे । एपीएफका बिपिन थापा मगरले सान्त्वना गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा नै ब्रिगेडले अग्रता बनाएको थियो । एपीएफका निशान रावलले गोल किपरलाई दिएको हेड ब्याक पास खोस्दै बृजेशले उत्कृष्ट गोल गरेका थिए । खेलको ५१ औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडको अग्रता दोब्बर बनाए । योसंगै बृजेश र रोशनले लिगमा सर्वाधिक ६/६ गोल पुरा गरे ।
खेलको ७८ औं मिनेटमा गेडका रोशन राना मगरले रातो कार्ड पाएपछि ब्रिगेड १० खेलाडीमा सिमित भयो ।एपीएफका गोलरक्षक सन्जय श्रेष्ठलाई डिबक्स भित्र फल गरेपछि ब्रिगेडका रोशनलाई रेफ्री प्रकाश नाथ श्रेष्ठले सिधै रातो कार्ड देखाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा एपीएफका बिपिनले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
अब ब्रिगेडले फाइनल प्रवेशको लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । पहिलो क्वाटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम ४ मा पुगिसकेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।