एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनाबाट खेल्दा च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दाको क्षण आफ्नो खेल जीवनकै उत्कृष्ट क्षण रहेको बताएका छन् ।
हाल फ्रेन्च क्लब पीएसजीमै रहेका नेयमारले एक्सप्रेस स्पोर्ट्ससँग कुरा गर्दै सन् २०१७ को च्याम्पियन्स लिगमा पीएसजीमाथिको जित उत्कृष्ट रहेको बताए ।
खेल जीवनको उत्कृष्ट क्षण कस्तो थियो भन्ने प्रश्नमा नेयमारले भने, ‘पीएसजीविरुद्ध बार्सिलोनाको पुनरागमन । जब हामीले ६ गोल गरेका थियौं । जुन सोचेका थिएनौं । त्यो अविश्वसनीय थियो ।’
च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा ४-० को हार व्यहोरेपनि बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गरेको थियो । बार्सिलोनाले दोस्रो लेगमा पीएसजीलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै नेयमारले उक्त जित आफ्नो लागि मात्र नभएर बार्सिलोनाका सम्पूर्ण खेलाडीको लागि विशेष रहेको बताए ।
‘जब हामीले बार्सिलोनाबाट पीएसजीलाई हरायौँ । हामी पूर्ण रुपमा पागल जस्तै भएका थियौं ।’ नेयमारले थपे, ‘मलाई विश्वास छ कि यो हामी सबैको लागि सबैभन्दा ठुलो सम्भव भएको दिन थियो ।’
२७ वर्षे नेयमार त्यस सिजनको अन्त्यपछि नै र्कीतिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।
पछिल्लो समय बार्सिलोना फर्कने हल्ला चलिरहेको बेला नेयमारको यस भनाईलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
यस्तै पीएसजीले प्रि-सिजनको अभ्यासमा बिना सूचना अनुपस्थित रहेको भन्दै क्लबले उनलाई कारबाही गर्ने जनाएको छ ।