काठमाडौं । ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन सृजन राज गौतम र राज थोकरले एक एक गोल गरे । फ्रेन्ड्सका राजिब लोप्चनले एक गोल फर्काए ।
जितसँगै समूह 'बी' को मनाङले ३ खेलबाट ४ अंक जोडेको छ । फ्रेन्ड्सले ३ खेलबाट १ अंक जोडेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।