काठमाडौं । मछिन्द्र क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मछिन्द्रलाई जित दिलाउन बिनम गुरुङ र बिपिन गुरुङले एक एक गोल गरे । एनआरटीका मन कुमार राईले एक गोल फर्काए ।
जितसँगै समूह 'ए' को मछिन्द्रले ३ खेलबाट ६ अंक जोडेको छ । एनआरटीको ३ खेलबाट ४ अंक रहेको छ ।
जितसंगै मछिन्द्रले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यस समूहबाट तीन टिम क्वाटरफाइनलमा पुग्ने छन् ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।