एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकामा ब्राजिललाई जिताउन सेटिङ गरिएको दाबी गरेका छन् ।
कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानको खेलपछि बोल्दै मेस्सीले कोपाको उपाधि ब्राजिललाई जिताउन सेटिङ भएको दाबी गरे ।
शनिबार राति भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको थियो ।
अर्जेन्टिनालाई जिताउन सर्जियो अग्युरो र पाउल डिबलाले गोल गरेका थिए । तर, खेलको ३७ औं मिनेटमा मेस्सी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
‘यो कोपा ब्राजिलको लागि सेट गरिएको छ । आशा छ कि रेफ्रीमा प्रभाव पर्दैन र पेरुलाई प्रतिस्पर्धा गर्न दिन्छ,' रेफ्रीको भूमिकामा शंका गर्दै कप्तान मेस्सीले भने, 'तर, मलाई लाग्छ यो असम्भव छ ।’
खेलपछि मेस्सीले कांस्य पदक लिन समेत अस्वीकार गरेका थिए । मेस्सीले कोपामा भ्रष्टचार भएको र आफु त्यसमा सामेल नहुने भन्दै पदक लिन अस्वीकार गरेका थिए ।
‘हामी यो भ्रष्टचारको अंश हुन चाहदैनौ, जुन हामीले प्रतियोगितामा सामना गरेका थियौं,’ मेस्सीले थपे, ‘हामी कोपा अमेरिकामा आफ्नो सम्मानलाई गुमाउन चाहदैनौ ।’
प्रतियोगिताको फाइनलमा ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार राति हुनेछ ।