एजेन्सी । बार्सिलोना फरवार्ड लियाेनल मेस्सीले गोल गर्न नसके पनि अर्जेन्टिनाले चीलीलाई २–१ ले हराएको छ । तर मेस्सीले सो जित पछाडी आफुहरुलाई फुटबलले अन्याय गरेको बताएका छन् ।
३२ बर्षे खेलाडीले भने, ‘फुटबल न्यायपूर्ण हुन सकेन ।’
प्ले अफमा अजेन्टिना तेस्रो स्थानका लागि भएको खेलमा विजयी भएपछि उनले सो कुरा उल्लेख गरेका छन् । आफ्नो टोलीले तेस्रो स्थान मात्र प्राप्त गरेकोमा उनले पश्चताप गरेका हुन् ।
३६औं मिनेटको दौरानमा मेस्सी र चिलीका फुटबलर ग्रे मेडेल आपसमा ठोक्किएपछि दुवै खेलाडीले रातो कार्ड पाएका थिए । सो विषयलाई लिएर आलोचना भइरहेको छ ।

खेलमा सर्जियो अगुरो र पाउले ड्याबलाले एक एक गोल गरेपछि आर्जेन्टिनाले जित निकालेको थियो । विपक्षी टिमका तर्फबाट भिडालले पेनाल्टीबाट एक गोल फर्काएका थिए ।
खेल सकिएको केही समयमै इन्स्टाग्राम स्टोरीमा मेस्सीले लेखेका छन, ‘हामीले जितसँगै यो कोपा छोडेर जाँदै छौं । तर हामीले शिर उच्च पारेर घर फर्किएपनि फुटबलले हामीलाई न्याय गर्न सकेन ।’ उनले थपे, ‘किनकी हामीले जसरी खेल्यौं र हामी ब्रजिलभन्दा राम्रो थियौं, हामीले भोलि फाइनलमा खेल्नुपर्ने थियो । तर पनि हामीले आशावादी बन्नुपर्छ र भविष्यको खेललाई मध्यनजर गरेर अगाडी बढ्नुपर्छ ।’
उनले अन्तिम सिट्टी बजेको केही मिनेटमै सो टिप्पणी गरेका थिए । साथै उनले दक्षिण अमेरिकी आयोजनामा भ्रष्टचार भएको आरोपसमेत लगाएका छन् । उनले जारी कोपा अमेरिका ब्राजिलको पक्षमा मात्र सुहाउने गरी आयोजना गरिएको आरोपसमेत लगाएका छन् ।
‘म यो भ्रष्टचारको भागिदार बन्न चाहन्न । हामीले यस्तो अनादरको पात्र बन्नु हुने थिएन । हामी यो कोपा अमेरीकाबाट पीडित बनेका छौं ।’ उनले भने, ‘हामी अगाडी जान सक्ने थियौं तर फाइनलमा पुग्न सकेनौं । भ्रष्टचार, रेफ्री र केही थप कुराले मानिसलाई फुटबलको मजा लिनबाट रोकेको छ ।’

विगत दुई वर्षको कोपा अमेरीकाको फाइनलमा अर्जेन्टिनाले चिलीसँग पेनाल्टीमा हारेको थियो । तर यो सिजनमा चिलीलाई हराएपछि खेलाडीलाई सान्त्वना मिलेको छ ।
मेस्सीको राष्ट्रिय टोलीका प्रशिक्षक लियोन स्कालोनीले मेस्सीसँग के भैरहेको छ भन्ने कुरामा आफू जानकार नरहेको बताएका छन् ।
उनले पत्रकार भेटघाटमा बोल्दै भने, ‘मलाई अझैसम्म थाहा छैन, मेस्सीले त्यस्तो के गरे र उनलाई बाहिर पठाइयो ? फुटबलमा यदि आफ्नो टिमको केही साथीलाई गलत गरेमा यो टिमलाईनै गलत गरेका ठहर्छ ।’ उनले थपे, ‘हामीले यो कार्य मेस्सीसँग भएको देख्यौं ।’